गाजामा इजरायली हमलामा चार पत्रकारको मृत्यु

विराटनगर । गाजा सहरको अल–शिफा अस्पताल नजिक भएको इजरायली आक्रमणमा चार जना पत्रकारको मृत्यु भएको छ। अलजजिराका अनुसार अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला उक्त स्थानलाई लक्षित गरेर गरिएको हमलामा उनीहरू मारिएका हुन्।

मारिने पत्रकारहरूमा रिपोर्टर अनस अल–शरीफ, मोहम्मद क्रेइकेह तथा क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नोउफल रहेका छन्। दुई हप्ताअघि अलजजिराले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)द्वारा आफ्ना पत्रकारहरू, विशेषगरी अल–शरीफमाथि उक्साहटको अभियान चलाएको भन्दै निन्दा गरेको थियो।

हमलापछि आईडीएफले अनस अल–शरीफलाई लक्ष्य बनाएको पुष्टि गर्दै उनलाई हमासको आतंककारी समूहको नेतृत्व गरेको दाबी गरेको बीबीसीले जनाएको छ। तर, मारिएका अन्य पत्रकारबारे भने आईडीएफले कुनै टिप्पणी गरेको छैन।

२८ वर्षीय अल–शरीफले आफ्नो मृत्युको केही क्षणअघि सामाजिक सञ्जाल ‘एक्स’मा गाजा सहरभित्र भइरहेको तीव्र इजरायली बमबारीबारे पोस्ट गरेका थिए।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (CPJ)का अनुसार, अक्टोबर २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही सुरु भएयता १८६ पत्रकारको मृत्यु भइसकेको पुष्टि भएको छ।

Add a Comment