श्रीकृष्ण जन्माष्टमी पर्व देशभर श्रद्धापूर्वक मनाइँदै
बिराटनगर । भगवान् श्रीकृष्णको जन्मजयन्तीका अवसरमा आज देशभर विविध धार्मिक कार्यक्रमसहित श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीका दिन मध्यरातमा भएको विश्वास गरिन्छ। यही कारण यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनेर मनाइन्छ।
यस अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा व्रत बस्ने परम्परा रहेको छ। भक्तजनहरूले रातभर जाग्राम बसेर भगवान्को स्मरण गर्ने चलन पनि छ।
धर्म, सत्य र सत्कर्मका पक्षधरका रूपमा श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतार मानिन्छ। कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश श्रीमद्भागवद्गीता मानव जीवनका लागि अमूल्य ग्रन्थका रूपमा मानिन्छ।
पौराणिक ग्रन्थका अनुसार बाल्यकालदेखि नै आफ्ना अद्भुत लीला प्रदर्शन गरेका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दुष्ट प्रवृत्तिको संहार गरेका थिए।
आज विशेषगरी पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागिरहेको छ भने काठमाडौँ उपत्यकाका अन्य मन्दिरमा पनि भक्तजनको भीड देखिएको छ। कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम र बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) परिसरमा समेत भक्तजनको भीड देखिएको छ। राजधानी बाहिरका श्रीकृष्ण मन्दिरमा पनि पूजाआजा र भीडभाड हुने परम्परा रहिआएको छ।