गाजामा नयाँ चरणको सैन्य अपरेशनको तयारी गर्दै इजरायल
विराटनगर । इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई अझ तिव्र बनाउन तयारी गरेको छ। सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएका भागहरूमा अपरेशनको नयाँ चरणलाई स्वीकृति दिएको एक वरिष्ठ अधिकारीले बताएका छन्।
यो अपरेशन मुख्यत: गाजा सहरका ती क्षेत्रमा केन्द्रित हुनेछ, जहाँ इजरायली सेना अझै प्रवेश गरेको छैन र जहाँ हमास अझै सक्रिय रहेको अनुमान छ। अधिकारीका अनुसार यो योजना अन्तिम चरणमा पुगेको भए पनि कारबाही कहिले सुरु गर्ने भन्ने निर्णय भइसकेको छैन।
नाम नखुलाउने सर्तमा उक्त अधिकारीले भने, “यो कारबाही अत्यन्त संवेदनशील छ र यसको उद्देश्य हमासलाई आफ्नो गढबाट बाहिर निकाल्नु हो।” उनका अनुसार आगामी महिना भित्र ५० हजार अतिरिक्त रिजर्भ सैनिक बोलाइनेछ। त्यसपछि सक्रिय रिजर्भको संख्या झन्डै दोब्बर भएर १ लाख २० हजार पुग्नेछ, जुन अहिलेसम्मको सबैभन्दा ठूलो रिजर्भ कल अप मानिन्छ। यसले इजरायल गाजामा लामो र फराकिलो युद्धको तयारीमा रहेको संकेत गर्छ।
गाजा पट्टी अहिले नै बारम्बार हवाई र जमिन आक्रमणबाट प्रभावित छ। घना जनसंख्या भएका क्षेत्रमा लडाइँ कठिन हुने अनुमान छ, किनभने इजरायलको दाबीअनुसार हमासले नागरिक संरचनाबीच आफ्ना ठाउं बनाएको छ। यसले कारबाहीलाई थप चुनौतीपूर्ण बनाउन सक्छ र गाजामा मानवीय संकट गहिरिने खतरा बढाएको छ।
अन्तर्राष्ट्रिय समुदायले इजरायललाई संयम अपनाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिरहेको छ। तर इजरायलले भने हमासको सैन्य क्षमताको अन्त्य नगरी युद्ध रोक्न नसकिने अडान लिएको छ।
विश्लेषकहरूले गाजामा युद्धको यस नयाँ चरणले क्षेत्रीय तनाव थप चर्काउने मात्र नभई, ठूलो संख्यामा सेनाको संलग्नताले द्वन्द्वलाई अझै लम्ब्याउने चेतावनी दिएका छन्। अब इजरायलले यो योजना कहिले र कुन स्तरमा कार्यान्वयन गर्छ भन्ने कुराले आगामी हप्ताहरूमा निर्णायक भूमिका खेल्ने देखिन्छ।