सुनसरीमा लगातारको वर्षाले बाढीपहिरोको जोखिम, एक हजारभन्दा बढी घर डुबानमा
सुनसरी । लगातारको वर्षाका कारण सुनसरी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ। बाढीका कारण आज करिब १,०३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका बस्तीहरूमा बाढी पसेको हो।
डुबानमा परेका अधिकांश घरका बासिन्दा अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको पनि उनले जानकारी दिए।
बाढीबाट सबैभन्दा बढी भोक्राहा नरसिंह गाउँपालिका–५ का करिब ३०० घर, बराहक्षेत्र नगरपालिका–८ का १६० घर र इनरुवा नगरपालिका–१० को जाल्पापुर क्षेत्रका ३०० भन्दा बढी घरहरू प्रभावित भएका छन्।
त्यस्तै, इनरुवा–४, ८, ९ र १०, रामधुनी–६, ७ र इटहरी उपमहानगरपालिका–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेका छन्।
प्रवक्ता खतिवडाले भने, “धेरैजसो सुकुम्वासी बस्ती डुबानमा परेका छन्, तर पूरै विस्थापित हुने गरी डुबान भएको छैन। सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका छौँ।”
बाढीका कारण इनरुवा–४ स्थित जानोद्दय आधारभूत विद्यालय र भोक्राहास्थित कार्डियो न्युरो अस्पताल समेत प्रभावित भएका छन्। अस्पताल परिसर डुबानमा परेपछि सशस्त्र प्रहरीले डुङ्गामार्फत चिकित्सकलाई अस्पतालभित्र पुर्याएको जानकारी प्रवक्ता खतिवडाले दिए।
यसैबीच, बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्य निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।
बाढीबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने, राहत वितरण गर्ने र थप क्षति हुन नदिन सतर्कता अपनाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।
त्यस्तै, धरान उपमहानगरपालिका–१३ स्थित धरान–भेडेटार सडकखण्ड निसानेमा गएको पहिरो पनि पन्छाएर सडक पुनः सञ्चालनमा ल्याइएको छ।