बैतडीमा डेंगी संक्रमण बढ्दै, नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान
विराटनगर । जिल्लामा डेंगी संक्रमण क्रमशः बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेका छन्। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म जिल्लामा सात जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई तथा मेलौली र पाटन नगरपालिकामा एक–एक जना रहेका छन्। संक्रमण पुष्टि भएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। उनका अनुसार बुधबार जिल्ला सदरमुकाम र पाटन बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको हो।
अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासी सक्रिय रूपमा सहभागी भएका थिए। वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले सचेतना अभिवृद्धि र सरसफाइलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।
यसैबीच, जिल्लाका स्थानीय तहहरूले पनि आफ्ना स्तरबाट डेंगी नियन्त्रणका प्रयास चालेका छन्। दोगडाकेदार गाउँपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। करिब तीन महिनासम्म सञ्चालन हुने यस अभियानमा विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयलाई अनिवार्य सहभागी हुन अनुरोध गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए।
स्वास्थ्यकर्मीहरूले समयमै सतर्कता अपनाए डेंगीको जोखिम न्यूनिकरण गर्न सकिने भन्दै सरसफाइमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।