रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

विराटनगर। रौतहटमा एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार मृतक गौर नगरपालिका–२ महादेवपट्टी डेरामा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी हुन्।

रुवीको शव गौर–९ स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र ‘प्याक’ गरी राखिएको अवस्थामा भेटिएको हो। शव कुहिनो र घुँडा जोडेर डोरीले बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

रुवीको मूल घर रौतहटको माधवनारायण नगरपालिका–६ मा रहेको र उनको विवाह भारतमा भएको खुलेको छ। पछिल्लो समय चार वर्षीय छोराको पढाइका लागि उनी गौर–२, महादेवपट्टीमा डेरामा बस्दै आएकी थिइन्।

डीआईजी चतुर्वेदीका अनुसार शव भेटिएको स्थान नजिकै घटना भएको देखिँदैन। भारतीय सीमाबाट करिब दुई किलोमिटर वर शव फेला परेकाले भारतीय प्रहरीसँग सहकार्य गरेर थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ।

Add a Comment