August 26, 2025
बारामा वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाएर कुटपिट, माओवादी केन्द्रबाट निलम्बन
विराटनगर। बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।
पर्सा बहुदरमाई घर भई प्रसौनी–६ बेलहियामा बसोबास गर्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित करिब आठ जनाले सामूहिक रूपमा कुटपिट गरेको आरोप लागेको हो। घटना सार्वजनिक गर्ने भिडियोमा मदिरा सेवनपछि यादवलाई नग्न बनाएर वडा कार्यालयभित्रै कुटपिट गरिएको देखिन्छ।
घटना सार्वजनिक भएलगत्तै नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष कुशवाहालाई छ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।
स्थानीयवासीले यस घटनाप्रति आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।