आज यी स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर सामान्यतया बदली रहने जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

महाशाखाका अनुसार, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको कारण देशभर वर्षाको प्रभाव देखिएको हो।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीसहित भारी वर्षा हुने सम्भावनाबारे महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

पछिल्लो २४ घन्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको छ। लम्जुङको बेसीसहरमा ९०.२ मिलिमिटर, खुदी बजारमा ८८, फलेनीमा ६७.४, भुजुङमा ५०.२, सिन्धुपाल्चोकको चन्दर्कुमा ६७, काठमाडौंको बूढानीलकण्ठमा ४७.६ र कास्कीको चोम्रोङमा ४८.८ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।

महाशाखाले नदी नाला र बाढी पहिरोको जोखिम हुने भन्दै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

Add a Comment