फिल्म ‘अभिमन्यु: च्याप्टर–१’को प्रचारप्रसार इटहरीबाट सुरु

विराटनगर । आगामी भदौ २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। यसैक्रममा फिल्म युनिट मोफसल प्रचार अभियानमा निस्किएको छ।

कोशी प्रदेशको इटहरीबाट प्रचार अभियान सुरु गर्दै सोमबार इटहरीस्थित ईलाइट सिनेमा हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा फिल्मका प्रमुख अभिनेता कामेश्वर चौरसिया र किरण श्रेष्ठ, साथै मिडिया को–अर्डिनेटर पवन भट्टराई सहभागी रहेका थिए।

साँझ ५ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा इटहरीसँगै धरान, विराटनगर, दमक र बिर्तामोडका पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अभिनेता चौरसियाले दर्शकको माया र साथकै कारण आफू आज प्रमुख भूमिकामा देखिन पाएको बताए। मधेसको कथामा आधारित यस फिल्मलाई उनले “सस्पेन्स क्राइम थ्रिलर” भन्दै दर्शकलाई पूर्ण रूपमा बाँध्न सक्ने विश्वास व्यक्त गरे।

हालै ट्रेलर सार्वजनिक कार्यक्रममा उठेको “नचलेका कलाकार” भन्ने विवादित प्रश्नबारे चौरसियाले आफू विचलित नभएको स्पष्ट पारे। “आज चलेको कलाकार भोलि नचल्न पनि सक्छ। त्यसैले त्यस्तो प्रश्नको कुनै तुक छैन,” भन्दै उनले सो प्रश्नलाई असंवेदनशील भएको भन्दै निर्माण पक्षले पनि भर्त्सना गरेको जानकारी दिए।

यता अर्का अभिनेता किरण श्रेष्ठले ट्रेलरमार्फत दर्शकलाई आवश्यक झलक मात्र दिइएको र अझ बढी खुलासा गर्दा फिल्मको सस्पेन्स बिग्रन सक्ने भएकाले सबैलाई भदौ २७ गते हलमा फिल्म हेर्न आग्रह गरे।

पत्रकार सम्मेलनपछि फिल्म टिमले प्रचार यात्रा निरन्तरता दिने जनाएको छ। यस क्रममा भदौ १७ गते जनकपुर, १८ गते वीरगन्ज र हेटौडा, १९ गते चितवन हुँदै अन्ततः काठमाडौंमा पुग्ने कार्यक्रम रहेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति यस फिल्मलाई निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन्। पैसाको प्रलोभन, अपहरण र संघर्षलाई कथाको मूल पाटो बनाइएको छ। प्रेमको आवरणमा अपहरण र फिरौती माग्ने घटनालाई फिल्मले उठान गरेको छ। हालै सार्वजनिक ट्रेलरमा घरबारबिहीन युवाले पैसाको लागि गरेका अवैध गतिविधि, पैसाप्रतिको गिद्धे दृष्टि र त्यसकै परिणामस्वरूप पात्रले भोग्ने संघर्षलाई देखाइएको छ।

Add a Comment