मोरङको लेटाङमा चिसाङ खोलाले बगाउँदा दुईको मृत्यु
विराटनगर । मोरङको लेटाङमा चिसाङ खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लेटाङ नगरपालिका–१, अमलबोटेका ७४ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२, किराँतचोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङ रहेका छन्।
बुधबार साँझ लेटाङ बजारबाट घर फर्किने क्रममा लेटाङ–६, लामिटारस्थित बगुवा भन्ने ठाउँमा खोलो तर्ने प्रयास गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार खोलाले बगाएको करिब ८ सय मिटर तल स्थानीयवासीले बुद्धवीर तामाङलाई मृत अवस्थामा फेला पारेका थिए। त्यस्तै, टिंके घिसिङको शव घटनास्थलबाट करिब ९ सय मिटर तल खोलाको बीच भागमा भेटिएको थियो।
इलाका प्रहरी कार्यालय लेटाङबाट इन्स्पेक्टर राकेश रेग्मीको नेतृत्वमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ।