September 7, 2025
मन्त्रीको गाडीले ठक्कर दिएको बालिका डिस्चार्ज
विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले ठक्कर दिएकी ११ वर्षीया बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।
शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा एमाले विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो।
घटनापछि बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि नेकपा (एमाले) ले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो।
साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए।
गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा सहभागी हुन मन्त्री राना काठमाडौं पुगेका थिए।