नेपाल डेन्टल एशोसिएसन मोरङ शाखामा नयाँ नेतृत्व चयन

विराटनगर । नेपाल डेन्टल एशोसिएसन (NDA) मोरङ शाखाको २०८०–८२ कार्यसमितिले पद हस्तान्तरण गर्दै २०८३–८४ का लागि नयाँ कार्यसमितिको घोषणा गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल डेन्टल एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजय साह रहेका थिए।
नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा डा. निमिसा दास, उपाध्यक्षमा डा. अभिषेक कुमार, महासचिवमा डा. कमरुल हक, कोषाध्यक्षमा डा. धिरज कुमार मण्डल, सह–कोषाध्यक्षमा डा. आदित्य साह, सदस्यहरूमा डा. मिरा ठाकुर, डा. आभा मण्डल, डा. शेखर कुमार मण्डल र डा. रिजवान अली रहेका छन्।

२०८०–८२ को कार्यकालमा अध्यक्ष रहेका डा. पवन मेहताले नयाँ अध्यक्ष डा. निमिसा दासलाई पद हस्तान्तरण गरेका हुन्।

अध्यक्ष डा. दासले आफ्नो कार्यकालमा जनचेतनामूलक कार्यक्रम, डेन्टल क्याम्प, पहिलो वार्षिक डेन्टल सम्मेलन तथा आश्रम–विद्यालयहरूमा सचेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना रहेको बताइन्।

त्यसैगरी कोषाध्यक्ष डा. धिरज कुमार मण्डलले अबको दिनमा दन्त चिकित्सकहरूको एकता, शिक्षालाई मान्यता दिलाउने पहल र उत्पन्न हुनसक्ने समस्या समाधानमा साथ सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, डेन्टिस्टलाई समाजसँग जोडेर जनचेतनामूलक अभियानलाई अगाडि बढाइने उनले स्पष्ट पारे।