आरोपीको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर

विराटनगर । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न निर्देशन दिएको छ। देशभरका प्रहरी युनिटहरूलाई साउन ५ गते सर्कुलर जारी गर्दै अबदेखि सञ्चार माध्यममा सूचना पठाउँदा वा पत्रकार सम्मेलनको क्रममा आरोपीको फोटो तथा भिडियो नदेखाउने स्पष्ट निर्देशन दिइएको हो।

प्रधान कार्यालयको निर्देशनसँगै विभिन्न प्रहरी कार्यालयहरूले आरोपीको फोटो तथा भिडियो सार्वजनिक गर्न छाडेका छन्।

यसअघि असार १९ गते महान्यायाधिवक्ताको कार्यालयले आरोपीहरूको गोपनीयताको अधिकार संरक्षण गर्नुपर्ने भन्दै तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार नै प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

यस कदमले अपराध अनुसन्धानको प्रकृयामा मानव अधिकारको संरक्षण गर्ने र निष्पक्ष अनुसन्धानलाई प्राथमिकता दिने प्रहरीको उद्देश्य रहेको बताइएको छ।

तर, यो निर्णयमाथि विभिन्न तर्क–वितर्क समेत सुरु भएका छन्। केहीले यसले पारदर्शितामा असर पर्ने बताइरहेका छन् भने केहीले आरोपीको व्यक्तिगत अधिकार र कानुनी मर्यादाको संरक्षणमा सहयोग पुग्ने तर्क गरेका छन्।