पहिलो महिनामै व्यापार घाटा रु १ खर्ब १९ अर्ब नाघ्यो
विराटनगर । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कूल वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा २.५ प्रतिशतले बढेको हो।
गत साउन महिनामा मात्रै मुलुकले रु एक खर्ब ४३ अर्ब ४ करोड बराबरको वस्तु आयात गरेको छ, जसमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा ११.४ प्रतिशतले वृद्धि भएको छ। भारत, चीन र अन्य मुलुकबाट हुने आयात क्रमशः ७.५, १४.१ र २०.५ प्रतिशतले बढेको छ। भटमासको कच्चा तेल, सवारीसाधन तथा स्पेयर पार्ट्स, चामल, कोइला र रासायनिक मल आयात बढेका वस्तु हुन् भने पेट्रोलियम पदार्थ, खाने तेल, अन्य मेसिनरी तथा पार्ट्स, हट रोल्ड सिट इन क्वाइल र तेलहनको आयात घटेको छ।
समीक्षा अवधिमा निर्यात भने ९५.७ प्रतिशतले बढेर रु २३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ९.६ प्रतिशतले गिरावट आएको थियो। निर्यात बढ्नमा भटमास तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची र जुटका सामान मुख्य योगदान रहे। तर, जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना र चियाको निर्यात घटेको छ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ६५.२ प्रतिशतले घटेको छ। अन्य मुलुकतर्फको निर्यात पनि १.४ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.५ प्रतिशत मात्र थियो।