लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
विराटनगर। मोरङ र झापाका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण व्यूरो विराटनगर र प्रहरी चौकी टाघनडुब्बा तथा काँकरभिट्टाबाट खटिएको टोलीले जेठ ८ गते विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, मोरङको विराटनगर महानगरपालिका–१५ बाट सुन्दर हरैचा नगरपालिका–१० निवासी समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
यस्तै, झापाको झापा गाउँपालिका–४ बाट २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरियालाई ८०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित क्षेत्रबाट मेचीनगर नगरपालिका–७ ईटाभट्टाका २५ वर्षीय घनश्याम माझीलाई ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैलाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।