झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदी पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाका अनुसार भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछिको परिस्थितिमा एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ७०५ जना नियन्त्रणमा परेका हुन् भने बाँकीको खोजीकार्य जारी छ।

भदौ २४ गते राति १०० बढी संख्यामा प्रदर्शनकारीले कारागारमा प्रवेश गरी क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए। बाहिरको दबाब र भित्रकै कैदीले आगो लगाउने धम्की दिएपछि थप क्षति रोक्न प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो पारिएको उपरीक्षक तिम्सनाले जानकारी दिए।

उनका अनुसार कारागारका दुई ब्लकमध्ये २२७ बाहेकका एकैसाथ १,५७२ जना कैदीबन्दी भागेका थिए। कारागारमा रहेका भारतीयसहितका ६५ जना विदेशी कैदीमध्ये सबै भारतीय कैदी समेत भागेका छन्।