बर्दी र सामग्री जलेपछि पनि ट्राफिक प्रहरी बिनाबर्दीमै खटिँदै
बिराटनगर । जेन–जी आन्दोलनका क्रममा भएको अराजक घटनामा ट्राफिक प्रहरीका बर्दी र सामग्री जलेपछि अहिले काठमाडौं उपत्यकाका धेरैजसो ट्राफिक प्रहरीहरू बिनाबर्दीमै ड्युटीमा खटिन बाध्य भएका छन्।
तीनकुने क्षेत्रमा सोमबार दिउँसो ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरी जवान धर्मराज देवकोटा झट्ट हेर्दा स्वयंसेवक जस्ता देखिन्थे। लोतावाल चप्पल, साधारण ट्राउजर र सर्टमा उनी सडकमा सिटी फुक्दै सवारी साधन व्यवस्थापन गरिरहेका थिए।
“त्यो दिन प्रदर्शनकारीले पोशाक बाले, बुटसमेत लुटिए। अहिले लगाउन जुत्ता छैन। बर्दी नआएसम्म बिनाबर्दीमै जनताको सेवा गर्छु,” देवकोटाले भने।
२४ भदौको घटनामा तीनकुने, कोटेश्वर, बानेश्वरलगायत स्थानका ट्राफिक प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो।
कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा खटिएका प्रहरी नायब निरीक्षक प्रमोदजंग कार्की र प्रहरी जवान तानिया भट्ट पनि अहिले बर्दीबिना नै काम गरिरहेका छन्। “प्रदर्शनकारीले पोशाक जलाए, तलबसमेत भित्रै छोड्नुपर्यो। सिभिल ड्रेसमै पछाडिबाट निस्केर ज्यान जोगायौं,” कार्कीले सुनाए।
जवान तानिया भट्टले पनि उस्तै अनुभव सुनाइन्। “कार्यालयमै बर्दी फुकालेर भाग्नुपरेको थियो। अहिले केही पनि बाँकी छैन,” उनले भनिन्।
नयाँ बानेश्वरमा खटिएका प्रहरी जवान मशेह दयाल पनि सोमबार ट्राउजर र टिर्सटमै ड्युटीमा देखिए। “बर्दी खरानी भयो। यही लगाएको मात्रै बाँकी छ,” उनले भने।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म जलेर नष्ट भएको सामग्रीको यकिन तथ्यांक संकलन हुन बाँकी छ। तर नयाँ बर्दी सिलाउने काम सुरु भइसकेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए।
“दुई दिनको अशान्तिपछि ट्राफिक प्रहरीहरू उच्च मनोबलसहित पुनः सेवामा फर्किएका छन्। शून्यबाट फेरि माथि पुर्याउनेछौं,” प्रहरी नायब निरीक्षक कार्कीले आशावादी हुँदै भने।