जेनजी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ
विराटनगर। जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँच पुरुष र दुई महिला रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार काठमाडौंको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका ती कैदीलाई नियन्त्रणमा लिइएको हो।
सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र एकसरा खातुन आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर नियन्त्रणमा आएका हुन्।
त्यस्तै, कास्की कारागारवाट भागेका कर्तव्यज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई प्रहरीले उनको घरमै लुकिरहेको अवस्थामा पक्राउ गरेको छ।
दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका नवलकिशोर नाम गरेका २३ वर्षीय एक कैदीलाई भने भारतीय प्रहरीले नियन्त्रणमा लिएर केचनास्थित इलाका प्रहरी कार्यालयमा बुझाएको जनाएको छ। उनी भारतीय नागरिक रहेको खुलेको छ।
सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यस्तै, सुन्धारा कारागारबाट भागेका थप दुई जना कैदी पनि पक्राउ परेका छन्।