नेपालमा शान्ति र स्थिरता कायम गर्ने कार्कीको प्रयासमा मोदीको समर्थन

विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति र स्थिरता पुनर्स्थापित गर्ने प्रधानमन्त्री सुशीला कार्कीको प्रयासलाई समर्थन जनाएका छन् ।

प्रधानमन्त्री कार्कीसँग बिहीबार भएको टेलिफोन वार्तापछि मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त समर्थन व्यक्त गरेका हुन् । उनले हालै नेपालमा भएको दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै भारतको तर्फबाट कार्कीको पहलप्रति दृढ समर्थन रहने बताएका छन् ।

“हालै नेपालमा भएको दुःखद् मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रहेको पुनः पुष्टि गरेँ,” मोदीले लेखेका छन् ।

प्रधानमन्त्री कार्कीसँगको कुराकानीलाई सौहार्दपूर्ण भनेका मोदीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाललाई शुभकामना पनि दिएका छन् ।

“मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ (प्रधानमन्त्री) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ,” मोदीले उल्लेख गरेका छन् ।

Add a Comment