मेयर बालेन र हर्कलाई मर्यादामा बस्न मेयर भट्टराईको आग्रह

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मर्यादामा बस्न दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आग्रह गरेका छन्।

पछिल्लो समय दुई मेयरबीच सामाजिक सञ्जालमार्फत देखिएको कटाक्ष र टिकाटिप्पणीले स्थानीय सरकारको छवि धूमिल भएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

“भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन सत्तारूढ दलको बहिर्गमन र सुशीला कार्की नेतृत्वको सरकार गठनदेखि नै चर्चामा रहेका मेयर बालेन र हर्कको अहंकार र गतिविधिले समग्र जनप्रतिनिधिको शिर निहुरिने काम गरेको छ,” भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

उनका अनुसार देश आहत भएको यस अवस्थामा दुई मेयरले ‘भालेजुधाई’ गरेर स्थानीय सरकारको गरिमामा आँच पुर्‍याइरहेका छन्। “यस्तै अभिमान र अमर्यादित चरित्र प्रदर्शन भए देशभरका मेयर नागरिकबाट समेत तिरस्कार हुने अवस्था आउन सक्छ,” भट्टराईले चेतावनी दिएका छन्।

भट्टराईले थप भनेका छन्, “एउटाले विगार्ने शाखा सन्तान पिरोल्नेझैँ भएको छ। त्यसैले बालेन र हर्कलाई कटाक्ष र अपमान होइन, हातेमालो र सद्भाव बढाउँदै अघि बढ्न आवश्यक छ।”