चुच्चे नक्साको ‘ओरिजिनल स्केच’ सुरक्षित
विराटनगर । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्साको ‘ओरिजिनल स्केच’ जेन जी आन्दोलनका क्रममा पनि सुरक्षित रहेको खुलेको छ। गत भदौ २४ गते भएको आन्दोलनले सरकारी कार्यालयमा टाँसिएका नक्सामा क्षति पुर्याए पनि मूल स्केच भने सुरक्षित रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार तत्कालीन प्राविधिक कर्मचारीहरूले स्केल, प्रोजेक्सन सिस्टम र कोअर्डिनेट सिस्टम मिलाएर नयाँ नक्सा तयार गरेका थिए। सो नक्सामा सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको भूभाग समेटिएको छ। नक्सा तयार गर्नु अघि कर्मचारीहरू नेपाल–भारत सीमा क्षेत्र छाङरुसम्म पुगेका थिए।
२०७७ जेठ ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ नक्सा पास गरी ७ गते सार्वजनिक गरेको थियो। संसद्को निर्देशनपछि तयार गरिएको उक्त नक्सा सर्वसम्मतबाट अनुमोदन भएको थियो। २०७७ जेठ ३१ गते संसद्मा उपस्थित २५८ जना सांसदले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका थिए।
नापी विभागका प्राविधिकका अनुसार नक्सा सार्वजनिक भएपछि हजारौं प्रतिहरू छापिएका थिए, जसलाई प्रतिप्रति ५० रुपैयाँमा बिक्री गरिएको थियो। सो नक्सा सबै मन्त्रालय, आयोग, सरकारी कार्यालय, परराष्ट्र मन्त्रालय हुँदै विदेशस्थित नेपाली दूतावासहरूमा पठाइएको थियो।
त्यतिबेला धेरै कार्यालयले चुच्चे नक्सा भित्तामा टाँसेका थिए। भदौ २४ गतेको आन्दोलनले भित्तामा टाँसिएका नक्सामा क्षति पु¥याए पनि मूल ‘ओरिजिनल स्केच’ भने सुरक्षित रहेको स्रोतले स्पष्ट पारेको छ।
स्रोतका अनुसार अद्यावधिक गरिएको नक्सा सरकारमार्फत संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालय (युएनएचसिआर) अन्तर्गतको ट्रिटी बडीलाई समेत पठाइएको थियो। ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक दस्तावेजमार्फत सन् २०२५ को जनवरीमै नक्सा संयुक्त राष्ट्रसंघमा पेस गरिएको पाइएको छ।