महिला पत्रकारहरूद्वारा तीज पर्व उत्सवपूर्वक मनाइयो
विराटनगर । हिन्दु धर्म संस्कृति संरक्षण र जगेर्ना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ मोरङ शाखाका महिला पत्रकारहरूले हरितालिका तीज पर्व उत्सवपूर्वक मनाएका छन्। मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा महिला पत्रकारहरूले तीजका गीतमा रमाउँदै विभिन्न नृत्य प्रस्तुत गरेका थिए।
महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकका अनुसार हिन्दु धर्म संस्कृति जगेर्ना गर्ने र महिला पत्रकारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले यस अवसरले मोरङमा कार्यरत महिला पत्रकारहरूबीच सहकार्य र आपसी सम्बन्ध थप मजबुत बनाउन मद्दत गरेको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शुभकामना व्यक्त गर्दै तीज पर्व सबै जातजातिलाई एक ढिक्का पार्ने संस्कृतिको महत्वपूर्ण अभिव्यक्ति भएको धारणा राखिन्। उनले नयाँ पुस्तालाई तीजको महत्वबारे सचेत गराउँदै संरक्षण गर्नुपर्नेमा जोड दिइन्।
महासंघ मोरङकी उपाध्यक्ष तारा आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रममा महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।