चाडपर्व लक्षित सार्वजनिक यातायातका लागि रुट परमिट खुला

विराटनगर । चाडपर्वमा यात्रुवाहक सार्वजनिक सवारीसाधन सहज बनाउन आजदेखि देशभर रुट परमिट (अनुमति) खुला गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार असोज २२ गतेसम्म रुट परमिट खुला रहनेछ।

यस व्यवस्थापछि सार्वजनिक यातायात साधनले अलग्गै रुट नलिइकनै गन्तव्यस्थलसम्म यात्रु ओसारपसार गर्न पाउनेछन्। तर, विशेष प्रकृतिका कारण केही मार्गमा रोक लगाइएका आकारप्रकारका सवारीसाधन भने चल्न नपाउने महासङ्घले स्पष्ट पारेको छ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था कायम गरिएको छ। चाडपर्वको भीडभाडलाई व्यवस्थित बनाउन सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ठूला ट्रेलर सवारीसाधनलाई नारायणघाटदेखि काठमाडौंसम्म आजदेखि पूर्णिमासम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरिसकेको छ।

यातायात व्यवसायीले रुट परमिट खुलासँगै यात्रु चाडपर्वमा सहज रूपमा गन्तव्य पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

Add a Comment