‘मलाई मन्त्री नभन्नु, कवाडी वैज्ञानिक मन्त्री भन्नु’ : डा. महावीर पुन

विराटनगर।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका डा. महावीर पुनले आफूलाई ‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत् पुनले लेखेका छन्, “मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।”

उनले मन्त्री बनेपछि आफूलाई बधाई दिन खादामाला नलिएर ठोस सुझाव र कामका आईडिया ल्याउन आग्रह गरेका छन्। “कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला। बरू शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाट्सअपमा पठाउनु होला,” पुनले लेखेका छन्।

नवोन्मेष अभियन्ता पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो। उनी मन्त्री बन्नुअघि नै व्यावहारिक कामलाई प्राथमिकता दिनुपर्ने पक्षमा उभिँदै आएका छन्।

Add a Comment