देउवा र पूर्वमन्त्री खड्काको घरमा जलेका नोटबारे अनुसन्धान सुरु

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोट भेटिएको घटनामा औपचारिक अनुसन्धान सुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) दुबै निकायले छुट्टाछुट्टै टोली खटाएर छानबिन थालेको स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार एसपीको नेतृत्वमा टोली दुवै निवासमा पुगेर प्रारम्भिक तथ्य संकलन कार्य अघि बढाइरहेको छ ।

देउवाको निवासमा हजार, पाँचसयका नोट र अमेरिकी डलर जलेको अवस्थामा भेटिएको थियो । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जेन–जी आन्दोलनका क्रममा भएका उच्छृङ्खल गतिविधि, लुटपाट र जलेका नोटलगायत सबै पक्षमा ब्यूरोले गम्भीर अनुसन्धान थालेको जानकारी दिए ।

त्यसैगरी, तत्कालीन मन्त्री खड्काको निवासमा भेटिएको नगद रकम प्रदर्शनकारीले हावामा उडाएको दृश्यसमेत सार्वजनिक भएको थियो । देउवा निवासबाट लुटिएको रकमसम्बन्धी मुद्दामा संलग्न भएको आरोपमा तीन जनालाई भदौ २४ गते राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बयान, जलेको अवस्थामा भेटिएका नोट र अन्य प्रमाणलाई आधार मानेर सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान अघि बढाएको विभागीय अधिकारीले बताए ।

Add a Comment