अपर्झट मन्त्री बनेका महावीर पुन : “मन्त्रालयमै ओछ्यान बिछ्याएर बस्छु”

विराटनगर । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू अपर्झट मन्त्री बनेको बताउँदै अब सम्पूर्ण समय मन्त्रालयकै काममा समर्पित गर्ने बताएका छन्।

सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सेवा–सुविधाप्रति कुनै मोह नभएको स्पष्ट पार्दै भने, “अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिँदैन। म त अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो।” उनको यो भनाइले उपस्थित पत्रकार र सर्वसाधारणलाई हँसाएको थियो।

राजनीतिक पृष्ठभूमिबिनै मन्त्री बनेका पुनले तत्काल कुनै ठूलो घोषणा गर्ने अवस्थामा नरहेको प्रष्ट पारे। उनले भने, “म शिवजी वा भगवान् भएको भए त्रिनेत्र लगाएर यो–यो गर्छु भन्थेँ होला। किताब बेच्दै गरेको मान्छेलाई ल्याएर मन्त्री बनाइदिएपछि अहिले नै यो गर्छु भन्नु उचित हुँदैन।”

तर पनि उनले आफ्नो प्राथमिकता भने स्पष्ट पारे। “मेरो प्राथमिकता विज्ञान, प्रविधि, नवप्रवर्तन र व्यावहारिक अनुसन्धान नै हो। तर मन्त्रालयमा शिक्षा पनि जोडिएको छ, त्यसैले यसबारे विज्ञहरूसँग सल्लाह–सुझाव लिएर छिट्टै कार्यान्वयनमा जानेछु,” मन्त्री पुनले भने।

विगतमा युवाहरूमाझ नयाँ सोच र सिर्जनशीलतालाई प्रोत्साहित गर्दै आएका उनले अब मन्त्रीको हैसियतमा पनि युवाहरूलाई विवेक प्रयोग गर्न प्रेरित गर्ने बताए। “हरेक युवाले आफ्नो बुद्धिले काम गर्ने हो। आफूलाई जे गर्न मन लाग्छ र सकिन्छ, त्यो गर्ने हो,” उनले जोड दिए।

Add a Comment