सिरहामा अपहरणपछि किशोरको हत्या, पाँच करोड फिरौती मागिएको खुलासा
विराटनगर। सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहामा १७ वर्षीय अभिषेक महतोको हत्या भएको अवस्थामा शव फेला परेको छ। आइतबार राति घर नजिकैबाट अपहरणमा परेका महतोको शव मंगलबार बिहान घरदेखि करिब एक सय मिटर पूर्व रहेको आँप बगैचामा भेटिएको प्रहरीले पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार मृतकको हातखुट्टा बाँधिएको थियो र शरीरमा एसिड खन्याई हत्या गरिएको देखिन्छ। शव आँपको रुखमुनि फेला परेको हो।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकतर्फ घुम्न गएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारजनले रातभर खोजतलास गरे पनि फेला नपरेपछि सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश आएको थियो।
परिवारले तत्क्षणै प्रहरीलाई जानकारी दिँदै छोराको सकुशल उद्धारका लागि निवेदन दिएका थिए। तर समयमै कदम चाल्न नसकेको भन्दै परिवारले प्रहरीप्रति गुनासो व्यक्त गरेका छन्। “सम्पूर्ण जानकारी दिए पनि प्रहरीले निष्क्रियता देखायो, त्यसकै कारण अभिषेकले ज्यान गुमाउनुपर्यो,” मृतक परिवारको आक्रोश छ।
स्थानीयले पनि घटनालाई अपहरण ठहर गर्नमै प्रहरी ढिलाइ गरेको आरोप लगाएका छन्। प्रहरी निरीक्षक साहले भने, “घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। संलग्नलाई पत्ता लगाई कानुनी दायरामा ल्याइन्छ।”