आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको पूजा आराधना
विराटनगर । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज (बुधबार) घर–घरका दशैं घर र पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिएको छ।
चन्द्रमा आकारको घण्टा धारण गर्ने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ भनिएको छ, जसअनुसार शिरमा अर्धचन्द्र र हातमा घण्टा भएकी देवी चन्द्रघण्टा नामले प्रसिद्ध छिन्।
नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको आराधनाले शक्ति प्राप्त हुने विश्वास रहिआएको छ। त्यस्तै वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको कृपाले पाप नाश हुने र स्वरुप शान्त, करुणामयी एवं लोकहितकारी रहेको बताए।
चन्द्रघण्टा देवी पहेंलो वर्णकी, अत्याचारी शक्तिहरूको संहार गर्ने स्वरुपमा चित्रित गरिन्छिन्। यस दिन मणिपुर चक्रलाई ध्यान गर्ने परम्परा छ। देवीको साधना गर्दा ललाटमा तेज, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री देवीको पूजा गरिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको विशेष पूजा गरिएको हो।
नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत स्तोत्र पाठ गरिन्छ। नौ दिनसम्म नवदुर्गाको क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा हुने गर्छ।
देशभरका शक्तिपीठ र मन्दिरमा भक्तजनको विशेष भीड देखिएको छ। विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्दै नेपालीले बडादशैंको उत्सव १५ दिनसम्म मनाउने परम्परा रहेको छ।