जोगवनी सीमा नाकामा दुई समुदायबीच तनाव, दुई घण्टा आवागमन बन्द

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा दुई समुदायबीच उत्पन्न तनावका कारण सीमा नाका करिब दुई घण्टा बन्द गरिएको छ।

भारततर्फको विवादका कारण नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै सीमा अस्थायी रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपीला चुँडालले जानकारी दिइन्। उनले भनिन्, “भारततर्फ तनाव भएपछि जोगवनीमा किनमेल गर्न जाने नेपालीको सुरक्षाका लागि दुई घण्टा सीमा बन्द गरिएको थियो । अहिले स्थिति सामान्य बनेसँगै नाका सुचारु भइसकेको छ।”

स्थानीयका अनुसार, इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी भएको भन्दै मुस्लिम समुदायले विरोध प्रदर्शन सुरु गरेका थिए। त्यसपछि हिन्दु समुदायसँगको विवाद चर्किँदै झडपसम्म पुगेको र बजरंग दलका युवाहरू पनि घटनास्थलमा आइपुगेपछि स्थिति थप तनावपूर्ण बनेको बताइएको छ।

तनावका कारण सीमा क्षेत्र वरिपरि दुवै देशका सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।