पाँच महिनामै पारस हस्पिटलबाट विपन्न बिरामीलाई १ करोडभन्दा बढी छुट
विराटनगर । पारस हस्पिटलले चालु आर्थिक वर्षको पाँच महिनाभित्रै विपन्न बिरामीलाई उपचारमा १ करोड ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी छुट दिएको छ।
चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा प्रगति प्रस्तुतिकरण कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले यो तथ्याङ्क सार्वजनिक गर्नुभयो। उहाँले विगत आर्थिक वर्षमा मात्रै करिब २ करोड १० लाख रुपैयाँ बराबरको छुट सुविधा प्रदान गरिएको स्मरण गर्नुभयो।
सन् २०७९ सालमा स्थापना भएको अस्पतालले हालसम्म ५५ हजारभन्दा बढी बिरामीलाई ओपीडी र भर्ना सेवामार्फत उपचार गरेको छ। सो अवधिमा ७ हजार ८६५ भन्दा बढी शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष डा. सफिउर रहमानले “आर्थिक कारणले कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यसहित छुट उपलब्ध गराइँदै आएको” बताउनुभयो। उहाँका अनुसार अस्पतालले छिट्टै आफ्नै भवन निर्माण गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।
स्थापना कालदेखि अहिलेसम्म पारस हस्पिटलले गरिब, विपन्न तथा बेसहारा बिरामीका लागि ३ करोड ७२ लाख ४५ हजार ९८७ रुपैयाँ बराबरको छुट उपलब्ध गराइसकेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित र प्रेस सेन्टर मोरङ अध्यक्ष नवीन कर्णलगायतले अस्पतालले पु-याएको सामाजिक योगदानको प्रशंसा गरेका थिए।