आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना
विराटनगर । बडादसैं एवं नवरात्रको नवौँ दिन आज नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिनमै पूजा हुने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजाआराधना गर्नुपर्ने भएको हो।
किंवदन्तीअनुसार देवीको वर्ण पहिले केही कालो भएकाले भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेर सम्बोधन गरेका थिए। उक्त शब्द देवीलाई अप्रीतिकर लागेपछि उनले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन्। त्यसैले देवीलाई ‘महागौरी’ नामले पुकारिन्छ भन्ने पुराणमा उल्लेख छ। पुराण अनुसार महागौरी देवी श्वेतवस्त्र धारण गरी सेतो वृषभमाथि सवार रहने बताइन्छ।
यसअघि नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजाआराधना गरिएको थियो। आज आठौँ दिन महागौरीको पूजा सम्पन्न भएपछि भोलि नवमीका दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ।
नवरात्रभर घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस अवधिमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास छ।
दशैँको सुरुवातदेखि कोजाग्रत पूर्णिमासम्मको १५ दिन नेपालीहरूले यसरी पूजा, आराधना र प्रसाद ग्रहण गर्दै बडादसैं पर्व उल्लासपूर्वक मनाउने गर्छन्।