चक्रवात ‘मोन्था’ को प्रभाव कमजोर, देशका केही भागमा अझै वर्षा र हिमपातको सम्भावना
बिराटनगर। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार रातिदेखि चक्रवातको प्रभाव घट्दै गएको हो।
हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ। यसै कारण आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्छ भने मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा, साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
आज राति कोशी र मधेश प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ।
महाशाखाले मौसम क्रमशः सुधारोन्मुख भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।
