सुनसरीको हरिपुरमा सदा समुदायका १८ परिवारलाई खाद्यान्न वितरण
सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ हरिपुरमा बसोबास गर्ने सदा समुदायका १८ सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण गरिएको छ।
यो राहत वितरण सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ का स्थायी निबासी तथा हाल काठमाडौंमा रहनुभएका समाजसेवी डा. अबुल हुसैन अन्सारीको सहयोग र कोशी न्यूज २४ सुनसरीको सहजीकरणमा गरिएको हो।
खाद्यान्न वितरण प्राप्त गर्ने परिवारहरूमा बिनोद सदा, रञ्जित सदा, विद्या सदा, अमोद सदा, संजीत सदा, देवसुन्दर सदा, मुकेश सदा, रामदेव सदा, कजनी देवी सदा, कमल सदा, टिमा सदा, शोभा सदा, प्रमोद सदा, चम्पा देवी सदा, रंगी सदा, बिजय सदा, चैता सदा र बिना देवी सदा रहेका छन्।
स्थानिय पत्रकार देवराज यादवका अनुसार अन्सारीको सहयोगमा उनले बाढीपीडित परिवारका घरमै पुगेर एक बोरा भुजा, खाने तेल, साबुन, नुन र चाउचाउलगायतका सामग्री राहतस्वरूप वितरण गरेका हुन्।
यसअघि पनि डा. अन्सारीले भोक्राहा नरसिंह, हरिनगर लगायतका गाउँपालिकामा रहेका बाढीपीडितहरूलाई राहत वितरण गरिसक्नुभएको थियो। उनले निकट भविष्यमा कोशी ब्यारेज क्षेत्रमा रहेका प्रभावित परिवारहरूलाई पनि राहत वितरण गर्ने तयारी भइरहेको बताएका छन्।
यस्तै, केही दिनअघि देशभर वर्षा भइरहेको बेला नागरिकहरूको शान्ति–सुरक्षा र उद्धार कार्यमा खटिएको नेपाल प्रहरीलाई ५३ थान रेनकोट वितरण गरेर अन्सारीले सहयोग गर्नुभएको थियो।
डा. अन्सारीले भने, “विपतको बेलामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ। आगामी दिनहरूमा पनि यस्ता सहयोगका कार्यहरू निरन्तर रूपमा गर्दै जानेछु।”