आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको शुभ विवाह गर्दै देशभर विशेष पूजा

विराटनगर। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज हरि बोधिनी (प्रबोधिनी) एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। यस दिन घर–घरमा रोपिएको तुलसीलाई भगवान् **दामोदर (विष्णु)**सँग विधिपूर्वक विवाह गरी विशेष पूजा गरिन्छ।

शास्त्रअनुसार, **आसार शुक्ल एकादशी (हरिशयनी एकादशी)**का दिन क्षीरसागरमा विश्राममा गएको विष्णु आजको दिन जाग्रत हुने भएकाले यस एकादशीलाई “हरि बोधिनी” वा “प्रबोधिनी” भनिन्छ। हरिशयनीदेखि हरि बोधिनी एकादशीसम्मको चार महिना अवधिमा विवाह, ब्रतबन्धजस्ता मांगलिक कार्य नगर्ने परम्परा रहँदै आएको छ।

आजको दिन घरमा रोपिएको तुलसीको मठ गाईको गोबर, रातो माटो र फूलमालाले सजाएर तुलसी–विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यो दिन तुलसी र दामोदरको विवाहले शुभ फल दिने विश्वास गरिन्छ। तुलसीको मठ नजिक विष्णुको प्रतीकका रूपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गर्ने प्रचलन छ।

धार्मिक मान्यताअनुसार कात्तिक महिनाभर देवदेवीहरू तुलसीमै निवास गर्छन्। तुलसीको सुगन्धले वातावरण पवित्र हुने र तुलसीको मठ भएको घरमा यमदूत प्रवेश नगर्ने आस्था रहिआएको छ। साथै, तुलसी औषधीय दृष्टिले पनि लाभदायक मानिन्छ — यसको पात र रसले रुघाखोकी, औलोजस्ता रोग निको पार्ने तथा लामखुट्टे टोक्न नदिने गुण रहेको छ।

गरुड पुराणमा उल्लेख भएअनुसार, भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल प्राप्त हुने बताइन्छ। यस दिनको व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

आजका दिन किसानहरूले उखुको बोट तुलसी मठमा गाड्ने, अन्न नखाई फलाहार गर्ने, र राति “गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ…” भन्दै शंख, घन्टा र ढोल बजाएर विष्णुलाई जगाउने परम्परा रहिआएको छ।

देशभरका नारायण मन्दिरहरूमा विशेष पूजा र मेला लाग्ने गर्दछ। काठमाडौं उपत्यकाका चार नारायण — चाँगुनारायण, शेषनारायण, विशङ्खुनारायण र इचंगुनारायण — मा भक्तजनको भीड देखिन्छ। बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटस्थित चातुर्व्युह नारायणस्थानमा दर्शन गर्दा पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास छ।

धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने परम्परा पनि आजकै दिनसँग सम्बन्धित छ।

हरिबोधिनी एकादशीको व्रत र पूजा गरेर भक्तजनले पाप नाश, पुण्य वृद्धि र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ।

Add a Comment