जेनजी आन्दोलन: काठमाडौं उपत्यकाका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयको परिपत्र
विराटनगर । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई हाललाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले कात्तिक १६ गते जाँचबुझ आयोगको सचिवालयबाट प्राप्त पत्रका आधारमा सो निर्णय गरेको हो। आयोगले भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धान जारी राखेको र आवश्यक परे सोधपुछका लागि सम्बन्धित प्रहरी इन्चार्जहरूलाई बोलाउन सक्ने जनाएपछि प्रधान कार्यालयले परिपत्र जारी गरेको हो।
प्रहरी प्रधान कार्यालयका प्रशासन शाखाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ,
“जेनजी आन्दोलनमा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुन बोलाउनुपर्ने हुनाले हाललाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर व्यापक प्रदर्शन, तोडफोड र झडप भएका थिए। आयोगले ती घटनाका कारण, जिम्मेवारी र प्रभावको अनुसन्धान गरिरहेको छ।
