जेनिथ इन्टरनेसनल कलेजद्वारा नयाँ एमबिए ब्याचका विद्यार्थीको भव्य स्वागत
विराटनगर। जेनिथ इन्टरनेसनल कलेज, विराटनगरले आफ्नो २७औँ एमबिए ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि इटहरीस्थित सोल्टी वेस्टएण्ड होटलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कलेजले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विद्यार्थीहरूलाई सफलता हासिल गर्न आवश्यक रणनीति, अनुशासन र सकारात्मक दृष्टिकोणबारे प्रेरणादायी मन्तव्य दिए। उनले एमबिए अध्ययनलाई केवल शैक्षणिक उपलब्धिमा सीमित नराखी नेतृत्व, सञ्चार र निर्णय क्षमताको विकासमा केन्द्रित रहन सुझाव दिए।
कलेजका प्रमुख सन्दीप दास श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरे। उनले जेनिथ इन्टरनेसनल कलेजले व्यावहारिक शिक्षामा निरन्तर जोड दिँदै पूर्वाञ्चल क्षेत्रमा गुणस्तरीय व्यवस्थापन शिक्षाको पर्यायका रूपमा पहिचान बनाएको उल्लेख गरे।
कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले एमबिए अध्ययनको महत्व, पेशागत सम्भावना र नेतृत्व क्षमताको विकासबारे प्रेरक विचार प्रस्तुत गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति समर्पित रहन आह्वान गरे।
कार्यक्रमलाई मनोरञ्जक र अन्तरक्रियात्मक बनाउन विभिन्न समूहगत गतिविधि, टिम–बिल्डिङ खेल तथा अनुभव–साझा सत्रहरू पनि समावेश गरिएको थियो। सहभागी विद्यार्थीहरूले यस कार्यक्रममा सहभागिताले आफूहरूमा आत्मविश्वास, टोली–भावना र प्रेरणा बढेको अनुभूति व्यक्त गरे।
डा. श्रेष्ठको प्रेरणादायी अभिव्यक्तिले नयाँ एमबिए ब्याचका विद्यार्थीहरूलाई भविष्यप्रति थप दृढ र ऊर्जावान बनाएको कलेजले जनाएको छ। जेनिथ इन्टरनेसनल कलेजले यस अभिमुखीकरणमार्फत पुनः एकपटक नेतृत्व विकास र व्यावसायिक उत्कृष्टताको क्षेत्रमा आफ्नो अग्रस्थान सुदृढ गरेको छ।
