गणेशमान सिंहको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै
बिराटनगर । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली राजनीतिका आदर्श नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।
नेपाली राजनीतिमा त्याग, इमानदारी र साहसको प्रतीकका रूपमा परिचित सिंहको योगदान नेपालको प्रजातान्त्रिक यात्रासँग गहिरो रूपमा जोडिएको छ। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनले आफ्ना सहकर्मी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै राजनीतिमा त्यागको अनुपम उदाहरण प्रस्तुत गरेका थिए।
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहले प्रजातन्त्र स्थापनाको अभियानको सुरुवात प्रजा परिषद् सदस्यका रूपमा गरेका थिए। राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय हुँदा उनी पक्राउ परे र जेल फोडी भागेपछि भारत पुगेर बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे।
वि.सं. २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक नेतामध्ये एक रहेका सिंहले वि.सं. २००७ को क्रान्तिमा वीरगञ्ज मोर्चाबाट सशस्त्र संघर्षको नेतृत्व गर्दै देशमा प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेले।
वि.सं. २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्रीका रूपमा रहेका उनले वि.सं. २०१७ को सत्ताकूपपछि आठ वर्ष जेल जीवन बिताए। त्यसपछि बीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएका सिंह वि.सं. २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि पञ्चायती शासनविरुद्ध पुनः सक्रिय बने।
बीपीको निधनपछि नेपाली कांग्रेसका सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका सिंहले वि.सं. २०४२ को सत्याग्रह आन्दोलन र वि.सं. २०४६ को जनआन्दोलनको नेतृत्व गर्दै नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनामा निर्णायक भूमिका खेले।
वि.सं. २०५४ असोज २ गते सिंहको निधन भए पनि उनी नेपाली राजनीतिमा त्याग र आदर्शका प्रतीकका रूपमा आज पनि उतिकै प्रेरणादायी छन्।
गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस, यसको भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूले आज काठमाडौंसहित देशभर श्रद्धाञ्जलि सभा, स्मृति कार्यक्रम र र्यालीको आयोजना गरिरहेका छन्।
