राष्ट्र बैंकमा व्यापक जिम्मेवारी हेरफेर, ११ कार्यकारी निर्देशकको सरुवा
बिराटनगर । नेपाल राष्ट्र बैंकले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलको निर्णयअनुसार विभिन्न विभागका प्रमुखहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।
राष्ट्र बैंकका शक्तिशाली विभागमध्ये एक मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको नेतृत्व रामु पौडेलले पाउने भएका छन्। उनी यसअघि अन्य महत्वपूर्ण विभागमा कार्यरत थिए।
त्यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ। पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा कार्यरत थिए। नियमन विभागका तत्कालीन निर्देशक गुरुप्रसाद पौडेललाई भने मानव संसाधन व्यवस्थापन विभागमा सारिएको छ।
रेवतीप्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट हटाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ।
सत्येन्द्र तिमल्सिनालाई वित्तीय संस्था सुपरिवेक्षण विभागबाट अन्य जिम्मेवारीमा सरुवा गरिएको छ भने विश्रुत थापालाई मानव संसाधन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व दिइएको छ।
त्यसैगरी, दयाराम शर्मालाई मौद्रिक व्यवस्थापन विभागबाट गभर्नर कार्यालयमा सारिएको छ। रोशनकुमार सिग्देललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ विभागमा, र डा. डिल्लीराम पोखरेललाई बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
यसैबीच, अनुज दाहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ।
भर्खरै बढुवा भई गभर्नर कार्यालयमा पदस्थापन भएका राजनविक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।
राष्ट्र बैंकले हालैको यो जिम्मेवारी हेरफेरलाई संस्थागत कार्यक्षमता र विभागीय सन्तुलन कायम गर्ने उद्देश्यका साथ गरिएको बताएको छ।
