वामपन्थी दलहरूको एकता घोषणा, ‘नेपाली कम्युनिष्ट पार्टी’ नाममा नयाँ शक्तिको उदय

विराटनगर । नेपालका प्रमुख वामपन्थी शक्तिहरूबीच लामो समयदेखि चलिरहेको एकता प्रयास आज औपचारिक रूपमा सफल भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित दस वामपन्थी दलबीच एकता घोषणा गरिएको हो।

एकता पश्चात् नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने घोषणा गरिएको छ। सो अवसरमा पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुन लगायत शीर्ष नेता तथा हजारौं कार्यकर्ता सहभागी थिए।

एकता संयोजन समितिका सदस्य तथा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण वर्तमान समयको ऐतिहासिक आवश्यकता भएको बताए। उनका अनुसार पार्टीको मुख्य लक्ष्य सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादी क्रान्तिको मार्गद्वारा आर्थिक रुपान्तरण गर्नु हो।

सहमति अनुसार, एकीकृत पार्टीले छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्नेछ। त्यतिन्जेलसम्म सहभागी सबै दलका केन्द्रीय समितिहरूलाई समायोजन गरी संयोजक र सह–संयोजक प्रणालीमा आधारित सामूहिक नेतृत्वको ढाँचा लागू गरिनेछ।

प्रदेश, जिल्ला, पालिका र वडा तहका संगठनहरूमा पनि सोही ढाँचा लागू हुनेछ। एकता महाधिवेशनमा प्रतिनिधि चयन, संगठनात्मक संरचना र नीति निर्धारण सबै आपसी सहमति र समझदारीका आधारमा गरिनेछ।

यो एकता घोषणालाई देशको वाम राजनीतिको नयाँ अध्यायको सुरुवातका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार, विगतमा विभाजित वामपन्थी धाराहरू फेरि एउटै मोर्चामा उभिनु राजनीतिक स्थायित्व र नीति निरन्तरताका दृष्टिले महत्त्वपूर्ण संकेत हो।

Add a Comment