कमला नदीमा कार्तिक पूर्णिमाको स्नान, भक्तजनको भीड
बिराटनगर । सिरहा र धनुषाको सीमामा बग्ने कमला नदीमा कार्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।
धार्मिक विश्वास अनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ र नकारात्मक शक्तिहरू हट्ने मान्यता रहँदै आएको छ। यही विश्वासका कारण देशका विभिन्न स्थानहरूका साथै भारतको बिहार राज्यसमेतका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन्।
कमला नदी क्षेत्रका इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती जयनगरसम्म बिहानैदेखि भक्तजनहरूले नदीमा स्नान, पूजा र भजन–कीर्तन गरेका छन्।
प्रत्येक वर्षझैं यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लाबाट हजारौँ श्रद्धालुहरू कमला स्नानमा सहभागी भएका छन्।
मेलाको अवसरमा सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका र विष्णुपुर गाउँपालिकाले स्थानीय बिदा घोषणा गरेका छन्। स्थानीय तहहरूले कार्तिक पूर्णिमा स्नान र ‘भूत मेला’ (देवता मेला) लाई धार्मिक परम्परा संरक्षण तथा सामाजिक सहभागिताको प्रतीकका रूपमा लिएर बिदा दिएको जनाएका छन्।
मेलाको समयमा नदी किनारका विभिन्न स्थानमा भजन–कीर्तन, नृत्य र सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। स्थानीयवासीहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
