रौतहटमा जेनजी आन्दोलनका क्रममा भागेका कैदीसहित ११ जना पक्राउ

बिराटनगर। रौतहट प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीसहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनको दौरान गौर कारागारबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन्। गौर कारागारबाट भागेका चन्द्रपुर–१ निवासी ४७ वर्षीय नागेन्द्र माझी गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् भने देवाही गोनाही–६ का सुधीरकुमार राम स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएका हुन्।

त्यस्तै, रौतहट जिल्ला अदालतको २०६१ सालको फैसलाअनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई कात्तिक १८ गते झाझ पुल नजिक पक्राउ गरिएको र ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजायपछि पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यी सबैसहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको छ।