ताप्लेजुङमा अलैंचीको मूल्य प्रतिमन एक लाख नाघ्यो
विराटनगर । पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैंचीको मूल्यमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। ताप्लेजुङमा गुणस्तरीय अलैंचीको मूल्य प्रतिमन (४० किलो) एक लाख रुपैयाँ नाघेको छ।
अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार आइतबार गुणस्तरीय अलैंची प्रतिमन रु १ लाख २ हजारमा कारोबार भएको छ। शनिबारसम्म प्रतिमन रु ९६ हजार रहेको मूल्य अपराह्नमा रु ९८ हजार पुगेको थियो भने आज फेरि प्रतिमन रु ४ हजारले बढ्दै एक लाख नाघेको हो।
उनका अनुसार असोज दोस्रो सातासम्म प्रतिमन रु ८५ हजारमा स्थिर रहेको अलैंचीको मूल्य पछिल्लो एक महिनामा १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएको हो। यस वर्ष नयाँ उत्पादन सुरु भएपछि रु ८० हजार प्रतिमनबाट कारोबार थालिएको थियो।
व्यवसायीहरूले यस वर्ष अलैंचीको मूल्यमा अपेक्षाकृत राम्रो वृद्धि भएको बताएका छन्। नेपालमा उत्पादित अलैंची मुख्यतः भारतीय बजार हुँदै तेस्रो मुलुकमा निर्यात हुने गर्दछ।
