विराटनगरको एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी कार्यक्रम सुरु हुने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालय (केयू) को सम्बन्धनमा बीआईटी (Bachelor of Information Technology) कार्यक्रम सञ्चालन हुने भएको छ ।

एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीका अनुसार आगामी शैक्षिक सत्र अगस्ट २०२६ देखि बीआईटी कार्यक्रम अध्यापन सुरु गरिनेछ । यससँगै कोशी प्रदेशमा निजी शिक्षण संस्थामध्ये काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने एभरेष्ट कलेज पहिलो संस्था बनेको छ ।

यसअघि विराटनगरकै एस्पायर कलेजमा भने काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङको विस्तारित कार्यक्रम अन्तर्गत अध्ययन हुँदै आएको थियो ।

बीआईटी कार्यक्रम सञ्चालनका लागि आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा. डा. मनिष पोखरेल र एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै एभरेष्ट कलेजले प्रारम्भिक चरणमा ३० जना विद्यार्थी भर्ना गर्ने कोटा प्राप्त गरेको कलेज प्रशासनले जनाएको छ ।

विराटनगरमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको एभरेष्ट कलेजले स्नातक तहमा आउँदो सत्रदेखि अध्यापन सुरु गर्ने तयारी गरेको छ ।

Add a Comment