त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्सको गाडी फेला
बिराटनगर । त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको यात्रुवाहक गाडी फेला परेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदी किनारमा बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स गाडी फेला परेको हो। गाडीका केही पार्टपुर्जा देखिएपछि खोजी तीव्र पारिएको थियो।
उक्त गाडीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट संयुक्त टोली खटिएको थियो।
गत २०८१ असार २८ गते बिहान काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स (बागमती प्रदेश ०३–००१ ख २४९५) र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्स (बागमती प्रदेश ०३–००६ ख १५१६) चितवनको सिमलताल क्षेत्रमा आएको पहिरोका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
गणपति डिलक्समा सवार ३१ यात्रुमध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। हालसम्म तीमध्ये १४ जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नदीमा पानीको बहाव र भौगोलिक कठिनाइका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
