बिना अनुमति नेपाल प्रवेश गरेका हैदरावाद प्रहरीसहित ३ भारतीय नागरिक पक्राउ

विराटनगर। भारतमा चोरी गरी नेपाल भागेका नेपाली नागरिकलाई नियन्त्रणमा लिन भन्दै काठमाडौं आएका हैदरावाद प्रहरीका डिएसपी जसवन्तसहित तीन भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय दूतावासको जिम्मा लगाएको छ।

नेपाल प्रहरीका एक उच्च स्रोतले दिएको जानकारीअनुसार उनीहरूलाई गत शुक्रबार काठमाडौंको स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। सूचना अनुसार हैदरावाद प्रहरीले केही समयअघि ३ करोड भारतीय रुपैयाँ बराबरको चोरी घटनामा संलग्न नेपालीहरूमध्ये एक फरार अभियुक्त काठमाडौं लुकेको पत्ता लगाएको थियो। सो अभियुक्तलाई पक्राउ गर्न उनीहरू सुराकी टोलीका रूपमा नेपाल प्रवेश गरेको बताइएको छ।

तर नेपाल प्रहरीको टोलीले उनीहरूको गतिविधि शंकास्पद देखेर सोधपुछ गर्दा उनीहरू भारतीय प्रहरी अधिकारी भएको खुलेको हो। उनीहरूले नेपाल सरकार वा नेपाल प्रहरीसँग कुनै पूर्वस्वीकृति नलिई अपरेशन चलाएको पाइएको छ।

यसपछि नेपाल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कूटनीतिक प्रक्रिया अनुसार काठमाडौंस्थित भारतीय दूतावासलाई जिम्मा लगाएको हो।

यसअघि पनि यस्तै घटना फागुन महिनामा घटेको थियो। त्यतिबेला भारतीय पञ्जाब प्रहरीको टोलीलाई ठमेलबाट पक्राउ गरी दूतावासमार्फत फिर्ता गरिएको थियो। उक्त घटनाका कारण लम्जुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तव कारवाहीमा परेका थिए।

ताजा घटनाले पुनः छिमेकी मुलुकहरूसँगको सुरक्षात्मक समन्वय र कूटनीतिक मापदण्डको सवाल उठाएको छ। नेपालस्थित विदेशी सुरक्षाकर्मीहरूले पूर्वस्वीकृति विना नेपाली भूमिमा सञ्चालन गर्ने कुनै पनि गतिविधि अन्तर्राष्ट्रिय कूटनीतिक आचारसंहिताविपरीत हुने विज्ञहरूको टिप्पणी छ।