महानगरको आयोजनामा विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता
विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा यही माघ ६ गते मंगलबारदेखि विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आदर्श माविको समन्वयमा हुने प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत २५ वटा विद्यालयले सहभागिता जनाउने निश्चित भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ महानगरपालिकाले नगरभित्रका उदीयमान युवा प्रतिभाहरूको पहिचान, प्रोत्साहन तथा सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै खेलकुदलाई अनुशासित, सक्षम र जिम्मेवार नागरिक निर्माणको सशक्त माध्यमका रूपमा अघि बढाउँदै प्रतियोगिता आयोजना गर्न लागेको मेयर नागेश कोइरालाले बताए ।
माघ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ५ सय विद्यार्थीले सहभागिता जनाउने उनको भनाइ थियो । ‘यस प्रतियोगितालाई महानगरभित्रको खेल उत्सवका रुपमा हामीले लिएका छौं । पालिकास्तरीय प्रतियोगिताबाट राष्ट्रियस्तरका खेलाडीको रुपमा स्थापित हुने एउटा महत्वपूर्ण प्लेटफर्म रहेको छ,’ उनले भने, ‘यसले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ कक्षा– १२ सम्म अध्ययनरत १६ वर्ष उमेर पूरा नभएका विद्यार्थी खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । महानगरले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ थियो ।
राष्ट्रपति रनिङ शिल्डजस्तै मेयरकप पनि भव्य हुने महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले बताए । उनले मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता केवल एक खेलकुद कार्यक्रम मात्र नभई, स्थानीयस्तरमै प्रतिभा पहिचान, स्वस्थ जीवनशैली प्रवद्र्धन, सामाजिक समावेशिता सुदृढीकरण र भविष्यका जिम्मेवार नागरिक निर्माण गर्ने दीर्घकालीन अभियान भएको ढुङ्गेलले उल्लेख गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको समन्वयको जिम्मेवारीका पाएको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए । त्यस्तै द्वितीय हुने विद्यालयले ७५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा तृतीय हुने दुईवटा विद्यालयलाई ३५–३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पोखरेलले बताए । त्यस्तै सबै सहभागी विद्यालयलाई प्रमाणपत्र दिइनेछ ।
जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने प्रतियोगिता शहीद रंगशाला र दिल्ली पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन हुनेछ ।
