चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार उनको निधन भएको पुष्टि गरेको हो।
अस्पतालका अनुसार सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो। बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते अछाम पुगेका सिटौला त्यहीँ अचानक बेहोस भई लड्दा टाउकोमा गम्भीर चोट लागेका थिए।
अस्पतालका एक चिकित्सकका अनुसार, दुर्घटनापछि उनको अवस्था गम्भीर बनेको थियो। त्यसपछि उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनलाई काठमाडौँ ल्याइएको थियो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ब्रेन ह्यामेरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ।
नुवाकोट निवासी ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्। उनको निधनप्रति सञ्चार क्षेत्र तथा राजनीतिक वृत्तले गहिरो दुःख व्यक्त गरेका छन्।
