सिडेन मोरङको अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन
विराटनगर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स मोरङ (सिडेन)को अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन भएका छन्।
शनिबार विराटनगरमा सम्पन्न सिडेन मोरङको पहिलो अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो। सिडेन कोशी प्रदेश अध्यक्ष भरत न्यौपानेले अधिवेशनबाट कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको जानकारी दिए।
नवगठित कार्यसमितिको उपसभापतिमा श्याम नारायण यादव, सचिवमा मदन सिंह र कोषाध्यक्षमा प्रतिक्षा कोइराला निर्विरोध चयन भएका छन्। यस्तै सदस्यहरूमा मनमोहन पंजियार, अमनकुमार राई, रविप्रवेश सिंह, राजन चौधरी र आकाश साह रहेका छन्।
दुई वर्षे कार्यकालमा सिडेन मोरङका आवश्यक तथा प्राथमिकताका कामहरूलाई प्रभावकारी रूपमा अघि बढाइने नवनिर्वाचित अध्यक्ष कोइरालाले बताए। उनले मोरङ जिल्लाको विकास तथा पूर्वाधार निर्माणमा सिडेनले ठोस योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
भारतको बेंगलोरबाट कम्प्युटर साइन्समा इन्जिनियरिङ अध्ययन गरेका कोइराला नेपाली खेलकुद क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन्। उनी विराट सिटी फुटबल क्लबका मालिकसमेत हुन्। साथै पछिल्लो समय जाम्बुरे नेक्सस फुटसल सञ्चालन गर्दै आएका कोइरालाको क्लबले नेपाल सुपर लिगको पहिलो संस्करणमा स्तरीय प्रदर्शन गरेको थियो।
