च्याम्पियन्स कराँते एकेडेमीका खेलाडीहरुलाई सम्मान

विराटनगर। विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीका खेलाडी विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरिएको छ। खेलाडीहरूलाई पारस मल्टिस्पेसिलिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र अस्पतालका लेखा प्रमुख इमरान अन्सारी तथा रोडशेष डेन्टल तथा ओरल केयर क्लिनिकका डा. शेखर कुमार मण्डलले खादा, टिका, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

गत शनिबार सम्पन्न तेस्रो बेलबारी खुल्ला कराँते प्रतियोगितामा एकेडेमीका १८ जना खेलाडीहरूले सहभागिता जनाएका थिए। तीमध्ये ३ जनाले कुमुते र काता दुवै विधामा प्रतिस्पर्धा गरेका थिए भने अन्य खेलाडीहरूले कुमुतेतर्फ प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा एकेडेमीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ४ वटा स्वर्ण, ५ वटा रजत र १३ वटा कांस्य पदक जित्न सफल भएका थिए।

एकेडेमीका सञ्चालक तथा कोच सुरज कामतका अनुसार खेलाडीहरूले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनीहरूलाई आगामी दिनमा अझै राम्रो प्रदर्शनका लागि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए।

Add a Comment