रातोपाटी अनलाइनको समाचारप्रति दिनेशचन्द्र थपलियाको खण्डन, कानुनी उपचार खोज्ने चेतावनी
बिराटनगर। रातोपाटी अनलाइन मा हालै प्रकाशित समाचारप्रति दिनेशचन्द्र थपलिया ले गम्भीर आपत्ति जनाउँदै सम्पूर्ण आरोपहरू अस्वीकार गरेका छन्।
डा. शेखर कोइराला का स्वकीय सचिव थपलियाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका आरोपहरू “पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित” रहेको बताएका छन्। समाचारमा उनलाई विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको तथा गगनकुमार थापा विरुद्ध निर्वाचनमा षड्यन्त्र गरेको आरोप लगाइएको थियो।
विज्ञप्तिमा उनले आफू सधैं संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्वप्रतिको निष्ठामा आधारित भएर काम गर्दै आएको उल्लेख गर्दै पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधिमा संलग्न हुने कुरा त परको विषय भएको बताएका छन्। “त्यस्तो सोचसमेत राख्नु मेरो नैतिकता, पेशागत धर्म र व्यक्तिगत चरित्रविपरीत छ,” विज्ञप्तिमा भनिएको छ।

समाचारमा जोडिएका व्यक्तिहरूबारे स्पष्ट पार्दै थपलियाले तथाकथित रूपमा उल्लेख गरिएको व्यक्तिलाई नचिनेको र उपेन्द्र कुशवाहा सँग कुनै संवाद नभएको दाबी गरेका छन्। साथै अमरेश सिंह सँग पनि सो विषयमा कुनै भेटघाट वा संवाद नभएको उनले स्पष्ट पारे।
उनले यस्ता अपुष्ट र भ्रामक समाचारले व्यक्तिगत प्रतिष्ठामात्र नभई समग्र संगठन, पार्टी र लोकतान्त्रिक अभ्यासमाथि नै आघात पुर्याउने बताएका छन्। वर्तमान संवेदनशील राजनीतिक परिवेशमा यस्ता प्रचारले जनविश्वास कमजोर बनाउने र संगठनलाई अनावश्यक रूपमा बदनाम गर्ने कार्य हुने उनको भनाइ छ।
विज्ञप्तिमा थपलियाले यस विषयमा सम्बन्धित निकायहरूसँग परामर्श गरिरहेको जानकारी दिँदै आवश्यक परे प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने र व्यक्तिगत प्रतिष्ठाको रक्षा गर्न कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएका छन्।
अन्त्यमा उनले पार्टीका सबै तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायलाई अपुष्ट समाचारप्रति सचेत रहन र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
